कलमवीर र गोठालाहरु
निस्केका गोठालाहरु
चढ्न फूलको सगरमाथा
उज्यालो पर्खेर
अपाङ्ग वर्तमानसँग
एउटा सन्नाटा
अँध्यारो पछि उज्यालोको सन्नाटा जस्तै ।
लछ्राप्प भिजेर
क्रस फायरको तुषारोले
लुगलुग कामिरहेछन् गोठालाहरु
चुपचाप चुपचाप
आज गयो
भोलि टुहुरा चल्लाहरु र रित्ता काखहरु ।
परिणती वाँच्नुको उरुङ्गबाट
सवलाङ्ग खुट्टाहरु
छलाङ्ग मार्दै
परिस्थिति -
समुन्द्रपारीको वाध्यतासँग
शोक विर्षोका अहोरात्रिसँग ।
ओझेल परेर
जुनकेा अर्को पाटामा
हुरि असिनाकेा बादल मुनि
कलमवीरहरु
रोइरहेछन् जोड्दै
भिजेको कागजभरि
कथा – हराउनेहरुको
कथा – इतिहासमा छुटेका शब्दहरुको ।
शुरुवात – सुन्यबाट हुन्छ
आज – उस्तै रहन्न
परिवर्तनको इजलासमा
कलमवीर र गोठालाहरु
पानीको लठ्ठी टेक्दै
लम्किरहेछन् खुल्ला परिवेशमा
थाम्न भोलिको आकासलाई ।